जग्गा खिचोला भनेको के हो ?
आफ्नो हक नपुग्ने अचल सम्पति मिचेर वा हडपेर आफ्नो मा घुसाई, दपोत गरेर लिने काम लाइ जग्गा खिचोला भनिन्छ । जग्गा खिचोला सधियार भएको मानिस ले मात्र गर्न सक्छ । साबिक मुकुली ऐन र हालको मुलुकी देवानी सहित २०७४ ले कसैले पनि अन्य व्यक्ति को सम्पति च्यापी, मिची, वा कुनै तबरले लिएको सम्पति खिचोला गरेको हुनेछ ।
कानुनमा खिचोला भन्नाले आफ्नो हक नपुग्ने सम्पति मिची, च्यापी, घुसाई लिने कार्यलाइ बुझाउछ । खिचोला सम्पति सम्बन्धि हकसंग सम्बन्धित विवाद हो । यसमा एकको हक भोगको सम्पति अर्को पक्षले कानुन बिपरित गरि निजको कब्जामा लिई कुनै तबरले भोगचलन गर्ने र सम्बन्धित धनिलाइ भोगचलन गर्न अबरोध पुर्याउने काम गर्दछ ।
जग्गा खिचोलाको बिबादमा निम्न प्रमाणहरु हेरिनु पर्छ ।
- जग्गा दर्ता श्रेस्ता
- सर्भे नापी नक्शा
- जग्गा को चार किल्ला लगायत बिषयमा आदेश गराई न्याय निरुपण गर्नुपर्छ । खिचोला मुद्दामा आदेश गर्नुपर्ने अन्य बिषयमा legalzoom Nepal को बिज्ञलाई भेट गर्न समय लिनुहोला ।
के कस्तो अबस्थामा जग्गा खिचोला भएको मानिन्छ ?
सम्पतिको हकसंग सम्बन्धि विवाद भएको हुनुपर्ने
एकको हक भोगको सम्पति हुनुपर्ने
अर्को पक्षले मिची, घुसाई, अन्य तबरले भोग गर्न बाधा अबरोध सिर्जना गरेको हुनुपर्ने
जग्गा खिचोला देवानी मुद्दा हो । देवानी मुद्दामा दाबी प्रमाणित गर्ने भार (Onus of proof) बादीको हुन्छ । यसर्थ खिचोला मुद्दामा बादीले प्रमाण पेश गर्नुपर्ने र प्रमाणित गर्नुपर्ने बिषय महत्वपूर्ण हुन्छ । मुद्दाको बारेमा बिज्ञसंग छलफल गर्न हाम्रा land expert lawyer of Nepal संग जिज्ञासा राख्न सक्नुहुन्छ ।
मुलुकी देवानी सहितामा खिचोला सम्बन्धि कानुनी ब्यबस्था
मुलुकी देवानी सहिता २०७४ ले जग्गा खिचोला र खिचोला विरुद्ध हक स्थापित गर्न स्पस्ट कानुनी व्यवस्था गरेको पाईन्छ । ऐ.ऐ. को दफा २७६, २७७, २७९, २८७, २९६ आदि जग्गा खिचोला सम्बन्धि कानुनको रुपमा रहेमा छन् ।
मुलुकी देवानी सहित २०७४ को दफा २७६ अन्य व्यक्तिको सम्पति उपभोग, बिगार्न वा प्राप्त गर्न नपाउने
(१) कसैले पनि अन्य व्यक्तिको सम्पति निजको मन्जुरी बिना उपभोग गर्न पाउने छैन ।
(२) कसैले पनि अन्य व्यक्तिको बाटो र निकाश बन्द गरि, आफ्नो जग्गाको साधमा कुनै काम वा निर्माण गरि वा अन्य कुनै पनि तबरले कुनै व्यक्तिको सम्पति बिगार्न पाउने छैन ।
(३) कसैले पनि अन्य व्यक्तिको सम्पति निजको मन्जुरी बिना प्राप्त गर्न सक्ने छैन । तर नेपाल सरकारले सार्बजनिक हितको लागि कानुन बमोजिम कुनै व्यक्तिको सम्पति प्राप्त गर्न सक्नेछ ।
(४) कसैले पनि कानुन बमोजिम बाहेक कुनै व्यक्तिको मन्जुरी नलिई निजको घर कम्पाउण्डमा प्रवेश गर्न पाउन छैन ।
दफा २७७. सम्पति अनतिक्रम्य हुने :
- कसैले पनि अन्य व्यक्तिको सम्पति च्यापी, मिची वा कुनै तबरले खिचोला वा अतिक्रमण गर्न हुदैन ।
- उपदफा (१) बमोजिमको कुनै काम गरि कसैले अन्य व्यक्तिको सम्पति आफ्नो कब्जामा लिएमा निजले त्यस्तो सम्पति खिचोला वा अतिक्रमण गरेको मानिनेछ ।
दफा २७९ : सहमति नलिई अर्काको जग्गामा घर बनाउनु नहुने :
- कसैले पनि स्वामित्व वाला को लिखित सहमति नलिई निजको जग्गामा घर बनाउन सक्ने छैन ।
- कसैले स्वामित्ववालाको लिखित सहमति नलिई निजको जग्गामा घर बनाएमा जग्गाधनीले चाहेमा त्यस्तो घरको बजार मूल्यको पच्चीस प्रतिशतसम्म कम मूल्यमा त्यसो घर खरिद गर्न पाउनेछ ।
- उपदफा (२) बमोजिम जग्गाधनीले त्यस्तो घर खरिद गरि नलिएमा घरधनीले स्वामित्ववालाको मन्जुर भएमा त्यस्तो घर भएको जग्गाको बजार मूल्यको पच्चीस प्रतिशतसम्म थप गरि त्यस्तो जग्गा खरिद गर्न सक्नेछ ।
- उपदफा (२) वा (३) बमोजिम घर वा जग्गा खरिद बिक्रि गरि लिन दिन दुवै पक्ष मन्जुरी नभएमा घर बनाउनेले त्यस्तो घर मनाएको मितिले तीन महिना भित्र घर भत्काई आफ्नो मालसामान लैजानु पर्नेछ ।
- उपदफा (४) बमोजिमको अबधि भित्र घर नभत्काएमा त्यस्तो घर जग्गाधनीको हुनेछ ।
दफा २८७ : अर्काको जग्गा भोगचलन गर्न नहुने : कसैले पनि अन्य व्यक्तिको हक, भोग र स्वामित्वको जग्गा निजको मन्जुरी नलिई आबद गर्न वा भोगचलन गर्न वा गराउन हुदैन ।
दफा २९६ दर्ता गर्न नहुने : कसैले पनि अन्य व्यक्तिको हकको जग्गा आफ्नो नाममा दर्ता गरुन हुदैन ।
दफा ३०७ : संरचना बनाउन नहुने
- कसैले पनि सरकारी, सार्बजनिक वा सामुदायिक जग्गामा निजि वा सार्बजनिक प्रयोजनको लागि कुनै संरचना बनाउनु हुदैन ।
जग्गा खिचोला सम्बन्धि महत्वपुर्ण नजिर
- जग्गामा हक स्वामित्व पुस्टि नगरेसम्म खिचोला दाबी गर्न नमिल्ने ।
- आफ्नो हक भोगको जग्गा हो भन्ने पुस्टि नगर्दासम्म कब्जा खिचोला तर्फ दाबी लिन नमिल्ने।
- आफ्नो नाममा नामसारी भई आइनसकेको अबस्थामा खिचोला भयो भनि दाबी गर्न नमिल्ने ।
- स्पस्ट दाबीको आभावमा जग्गा खिचोला मुद्दामा दाबी बमोजिम हुने भनि फैसला गर्न नमिल्ने ।
- प्रतिवादी कायम नगरी मुद्दा दर्ता गरेमा खिचोला मुद्दामा दाबी पुग्न नसक्ने ।
- भुलबस वृत पर्खाल लगाएकै आधारले निजले निजको जग्गाको स्वामित्व स्वत; लोप हुन्छ भनि मान्न नमिल्ने ।
- जग्गा बिक्रि गरिसकेपछि उक्त जग्गामा बनेको घर टहरा र लिगलिगपात समेत बिक्रि भएको मान्नुपर्ने ।
- लिखतको आधारमा हक प्राप्त गर्नेले लिखतमा उल्लेख नै नभएको घरमा हक प्राप्त गर्न सक्ने अवस्था नहुने ।
- एक पटक खुलाई सकेको बाटोको अस्थित्व देखिई सकेपछी बाटो उपयोगमा बादीलाइ बाधा हुनेगरी प्रतिवादीले पर्खाल लगाउन नपाउने ।
- प्रमाणमा उल्लेखित किल्ला, सर्भे नक्सा र नक्सा मुचुल्काको आधारमा जग्गा खिचोला भएनभएको हेरिनुपर्ने ।
जग्गा खिचोला सम्बन्धी बारम्बार सोधिने प्रस्न
-
जग्गा खिचोला भनेको के हो ?
उत्तर :- आफ्नो हक नपुग्ने अचल सम्पति मिचेर वा हडपेर आफ्नोमा घुसाई, दपोत गरेर लिने कामलाइ जग्गा खिचोला भनिन्छ ।
-
जग्गा दर्ता श्रेस्ता भन्नाले के बुझिन्छ ?
उत्तर :- कुनै पनि जग्गाको हक स्वामित्वको प्रामाणिक अभिलेखलाई जग्गा दर्ता श्रेस्ता भनिन्छ ।
-
सर्भे नापी नक्शा भन्नाले के बुझिन्छ ?
उत्तर :- जग्गा नाप जाच ऐन २०१९ बमोजिम जग्गाको नापजाच गरि खडा गरिएको नक्शालाई सर्भे नापी नक्शा भनिन्छ ।
-
क्षेत्रीय पुस्तिका भनेको के हो ?
उत्तर :- नापीको समयमा फिल्डमा तयार गरिने पुस्तिकालाइ क्षेत्रीय पुस्तिका भनिन्छ ।
-
टायल चेक भनेको के हो ?
उत्तर :- जग्गाको वास्तविक सर्भे नक्शा र फिल्ड नापीको आधारमा जग्गाको चारैतर्फ लम्बाई चौडाई उल्लेख गरि तयार पारिएको नक्सांकनलाई टायल चेक भनिन्छ ।
-
नक्शा मुचुल्का/नक्शा कुण्डली भन्नाले के बुझिन्छ ?
उत्तर :- कुनै जग्गा को विवाद अदालतमा दर्ता भई अदालतको आदेश भई डोर गई बादी प्रतिवादीको हक भोग, सर्भे, नक्शा अनुसारको रेखांकन, बस्थुस्थिति समेत झल्किने गरि खडा गरिएको कागजलाई नक्शा मुचुल्का भनिन्छ ।
-
खिचोला मुद्दामा प्रमाणको भार कसले पुर्याउनु पर्दछ ?
उत्तर :- खिचोला मुद्दामा प्रमाणको भार बादीले पुरा गर्नुपर्दछ ।
-
सगोलका अंशियार बीच खिचोला दाबी लाग्छ कि लाग्दैन ?
उत्तर :- लाग्दैन ।
-
खिचोला मुद्दा रित मार्फत समाधान गर्न सकिन्छ कि सकिदैन ?
उत्तर :- खिचोला मुद्दा रित मार्फत समाधान गर्न सकिदैन ।
-
जग्गा खिचोला भएन भएको कसरि थाहा पाउने ?
उत्तर :- मालपोत कार्यालयमा जग्गा नापजाच गर्न निबेदन पेश गरि बैधानिक रुपमा नापजाच गरि यकिन गरि जग्गा नपुग भएपछी थाहा पाउन सकिन्छ ।
-
खिचोला मुद्दाको फैसला अदालतबाट कति समय भित्र हुन्छ ?
उत्तर :- सामान्यतया १ वर्ष ।
-
सर्बोच्च अदालतमा जग्गा खिचोला मुद्दा पुनराबेदन लेख्ने र बहस गर्ने बिज्ञ वकिलको लागि कहाँ सम्पर्क गर्ने हो ?
उत्तर :- लिगलजुम नेपालको कार्यालयले सर्बोच्च अदालतमा जग्गा खिचोला मुद्दा हेर्न बिज्ञ उपलब्ध गराउछ ।

