निर्णय नं. १०९९२ – नाता कायम

सर्बोच्च अदालत, सयुक्त इजलाश, माननीय न्यायाधिश आनन्द मोहन भट्टराई र प्रकाश कुमार ढुंगाना  

फैसला मिति : २०७८/११/२९

मुद्दा न. ०७३-CI-०५०५

मुद्दा : नाता कायम

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश डा.श्री  आनन्दमोहन भट्टराई

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

फैसला मिति : २०७८।११।२९

०७३-CI-०५०५

                                                                             मुद्दा : नाता कायम

पुनरावेदक / प्रतिवादी : दोलखा जिल्ला, बुलुङ गा.वि.स., वडा नं.२ बस्ने भुमिशंकर आचार्यको  छोरा हेमन्त शंकर आचार्य

विरूद्ध

प्रत्यर्थी / वादी : दोलखा जिल्ला मागापौवा गा.वि.स., वडा नं. ५ घर भई ऐ. जिल्ला, बुलुङ गा.वि.स., वडा नं.२ बस्ने छविलाल न्यौपानेको नातिनी केदारप्रसाद न्यौपानेको छोरी हेमन्त शंकर आचार्यको श्रीमती मन्दीरा न्यौपाने आचार्य

 

झुक्याई सम्बन्ध विच्छेद गराए पनि हाम्रो श्रीमान् श्रीमतीको सम्बन्ध यथावत् छ भनी दाबी गरेको अवस्थामा पक्षका व्यवहार र आचरणहरू नहेरी सम्बन्ध विच्छेदको मिलापत्र बदरको माग गरिएको छैन भन्ने नितान्त प्राविधिक कुरा उठाई नाता कायम हुँदैन भन्नु अन्यायपूर्ण हुने । न्याय समग्रतामा हेरिने र पक्ष तथा समाजले अनुभूत गर्ने कुरा हुने । समाजमा विदेश जाने जुन लहर र हुटहुटी चलेको छ, जसरी झुट्टा विवाह वा कागजी विवाह गरेर भिसा हात पार्नेसम्मका गतिविधि भइरहेका छन्, प्रतिवादीले पनि त्यसो गर्ने प्रयास गरेनन् होला भन्न नसकिने । वादी प्रतिवादीबिच परम्परागत विवाह भएको र विवाहको बन्धन र नातालाई वादीले यथावत् कायम राख्न माग गरी वर्षौंसम्म मुद्दा लडिरहेको अवस्थालाई मानव अधिकारको दृष्टिबाट हेरिनुपर्ने ।

(प्रकरण नं.५)

वादीलाई छलेर कानूनी रूपमा सम्बन्ध विच्छेद गरी सोपश्चात् निजसँग सामाजिक रूपमा पति-पत्नीसरह बसेको अवस्थामा वादीलाई अंश हकबाट वञ्चित गराउँदा नेपालको संविधानले सुनिश्चित गरेको वंश, सम्पत्ति र सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार हनन हुने ।

(प्रकरण नं.६)

फैसला

न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्राप्त भई पुनरावेदनको रोहमा दर्ता हुन आएको यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः-

तथ्य खण्ड

म फिरादीलाई विपक्षीका पिता भुमिशंकर आचार्यले मागी जातीय परम्पराअनुसार मिति २०६७/१०/१० मा विपक्षीसँग विवाह भई श्रीमान् श्रीमतीको नाता कायम रही घर गरी बसिरहेका थियौं । विपक्षी पतिले कानूनी रूपले सम्बन्ध विच्छेद गराई अलग राख्ने नियतले मामाको छोरा अमेरिकामा हुनुहुन्छ भनी मलाई पनि डि.भि. भर्न भन्नुभयो । डि.भि. भर्न घरसल्लाह गरी काठमाडौं गएपछि विवाहितले डि.भि. भर्न कठिनाई हुने हुँदा पहिला कानूनी रूपमा सम्बन्ध विच्छेद गरौं, डि.भि. भरी अमेरिका गएपछि तिमीलाई लान्छु भनी काठमाडौं बोलाई अनेकौं प्रलोभन देखाई विश्वासमा पारी, अमेरिका जाँदा भविष्य बन्ने सम्झी काठमाडौं जिल्ला अदालतबाट मिति २०६८/१२/१७ गते सम्बन्ध विच्छेद गर्ने गरी मिलापत्र गर्‍यौं । तर मिलापत्रपश्चात् पनि विपक्षीसँग काठमाडौंमा एक ठाउँमा नै बस्दै आएको तथा मिति २०६९/०१/२३ गते दुवै जना माइतीमा देवाली मानी पुनः काठमाडौं गई एकासगोलमा बसी आएका थियौँ । २०६९ सालको वडा दशैँमा विपक्षीले डि.भि. को रिजल्ट भएपछि म घर आउँछु तिमी जाउ भनेपछि म प्रतिवादीको घर गएँ । दशैंमा विपक्षी घरमा नआएको र मिति २०६९/१०/१० गते फोन गर्दा हामीबिच सम्बन्ध विच्छेद भइसक्यो अब कुनै सम्बन्ध छैन भनी फोनमार्फत जवाफ दिई काठमाडौंमा गई भेट्न खोज्दासमेत भागी हिँडी गाली बेइज्जती गरी, फोनमार्फत धम्कीपूर्ण जवाफ दिने गरेको तथा कानूनी रूपमा सम्बन्ध विच्छेद भइसकेपछि पनि विपक्षीसँग शारीरिक सम्बन्ध (करणी) कायम राखी रहेको हुँदा पति पत्नीको महलको १, ५, ६ नं. बमोजिम पति पत्नीको नाता कायम गरिपाउँ भन्नेसमेत बेहोराको फिराददाबी ।

विपक्षीसँग दाम्पत्य जीवन धमिलिन थालेपछि अरूको बहकाउमा लागेर निजले काठमाडौं जिल्ला अदालतमा फिराद दिएकोले प्रतिउत्तर लगाई फिराद दाबीबमोजिम मिति २०६८/१२/१७ मा मिलापत्र गरी स्वतन्त्र रूपमा जीवन निर्वाह गर्दै आएका छौं । विपक्षी फिरादी अनपढ नभई ब्याचलर लेबलमा पढ्दै गरेकी साक्षर नारी हुन् । डि.भि. को लोभ देखाई अमेरिका जाने प्रलोभनमा सम्बन्ध विच्छेद गर्न लगायो भन्ने आरोप मनगढन्ते हो । एउटा जिल्ला अदालतबाट किनारा भएको मुद्दाको सम्बन्धमा पुनः सोही विषयमा अर्को अदालतमा नालेस गर्न उपयुक्त नहुने भएकाले फिराददाबी खारेजयोग्य छ भन्नेसमेत बेहोराको प्रतिउत्तरपत्र ।

वादी प्रतिवादी दुवैलाई उपस्थित गराई छलफल गराउनुपर्ने भएकोले वारेसमार्फत झिकाउनु र काठमाडौं जिल्ला अदालतमा चलेको दु.फौ.नं.३५८० को सम्बन्ध विच्छेद मुद्दाको मिसिल झिकाउनु भन्ने मिति २०७०/०९/१६ को सुरू जिल्ला अदालतको आदेश ।

वादी प्रतिवादीको साक्षी झिकाई बकपत्रको लागि पेस गर्नु र वादी प्रतिवादीबिच काठमाडौं जिल्ला अदालतबाट मिति २०६८/१२/१७ मा सम्बन्ध विच्छेद हुने गरी मिलापत्र भएपश्चात् पुनः वादी प्रतिवादी एकै साथ रही बसी पति पत्नीको नाताको रूपमा रहे बसेका हुन् होइन भन्ने सम्बन्धमा वादीको माइत घर तथा प्रतिवादीको घरमा गई गाउँ सर्जमिन गर्नु भन्ने मिति २०७०/१२/१९ गते को सुरू जिल्ला अदालतको आदेश ।

सम्बन्ध विच्छेद भइसकेपछि वादी प्रतिवादी घर र माइत ससुराली सँगसँगै गएका हुन् । प्रतिवादीले वादीलाई अमेरिका लाने भनी जालझेल गरी सम्बन्ध विच्छेद गराएको हुँदा नाता कायम हुनुपर्छ भन्नेसमेत वादीका साक्षी देवीका भण्डारीको बकपत्र ।

वादी प्रतिवादीबिच काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरेको हो । एउटा जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरिपाउँ भनी निवेदन दिई मिलापत्र गर्ने र अर्को अदालतमा आएर नाता कायम गरिपाउँ भनी निवेदन दिएको हुँदा नाता कायम हुनुपर्ने होइन भन्नेसमेत प्रतिवादीका साक्षी बालकृष्ण काफ्लेले गरेको बकपत्र ।

आदेशबमोजिम वादीको माइती घरमा मिति २०७१/०२/०५ तथा प्रतिवादीको घरमा मिति २०७१/०२/१४ मा गई खडा भएको सर्जमिन मुचुल्का मिसिल सामेल रहेछ ।

वादी प्रतिवादीबिच ०६७/१०/१० मा विवाह भएकोमा ०६८/१२/१७ मा सम्बन्ध विच्छेद भएको कुरामा विवाद देखिन आएन । काठमाडौं जिल्ला अदालतबाट ०६८/१२/१७ मा मिलापत्र हुँदा वादी प्रतिवादीबिच अंश तथा मानाचामल नलिने सर्तमा समेत मिलापत्र भएकोमा प्रतिवादीले वादीलाई रकम दिने पठाउने गरी कुनै सर्त बन्देज रहे भएको अवस्थासमेत नभएकोमा सम्बन्ध विच्छेद भइसकेकी उनाउ महिलालाई प्रतिवादीले रकम पठाउनुपर्ने मनासिब हुन नआउने र प्रतिवादीकै साक्षीले पनि प्रतिवादीबाट वादीलाई रकम पठाएको कुराको बकपत्र गरिदिनु र गाउँ सर्जमिनका मानिसहरूले सर्जमिनमा लेखिदिएको बेहोरा एवं वादीका साक्षीबाट वादी दाबी समर्थितसमेत भइरहेकाले प्रस्तुत मुद्दामा प्रतिवादीसँग नाता कायम गरिपाउँ भन्ने वादीको दाबी पुग्न सक्ने हुँदा वादीको प्रतिवादीसँग पति पत्नीको नाता कायम हुने ठहर्छ भन्ने सुरू दोलखा जिल्ला अदालतबाट मिति २०७१/३/१८ मा भएको फैसला ।

वादीले सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०६८/१२/१७ मा भएको मिलापत्रलाई अन्यथा भन्न नसकी प्रमाणित रही अकाट्य प्रमाणको रूपमा यथावत् कायम रही अन्तिम भएर बसेको अवस्थामा विपक्षीलाई नाता कायम गर्न विबन्धन लाग्ने भई हकदैया नै प्राप्त नभएकोले दोलखा जिल्ला अदालतले मिति २०७१/३/१८ मा गरेको फैसला न्यायिक मनको अभावमा पूर्वाग्रही रूपमा आत्मनिष्ठ भई पति पत्नीको १, ५, ६ नं. को भावनाविपरीत एवं विधायिकी मनसायविपरीत कानून, न्याय र मान्य सिद्धान्तसमेत विपरीत भई गैरकानूनी, त्रुटिपूर्ण भई बदर भागी हुँदा बदर गरी न्यायपूर्ण इन्साफ गरिपाउँ भन्ने प्रतिवादी हेमन्त शंकर आचार्यले तत्कालीन पुनरावेदन अदालत पाटनमा गरेको पुनरावेदन पत्र ।

यसमा यिनै वादी प्रतिवादीका बिच रहेको सम्बन्ध विच्छेद मुद्दामा २०६८/१२/१७ मा सम्बन्ध विच्छेद हुने गरी मिलापत्रसमेत भइसकेको परिप्रेक्ष्यमा सुरू जिल्ला अदालतबाट भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ नं. बमोजिम छलफलको लागि प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२/३/१८ मा भएको आदेश ।

सम्मानित दोलखा जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएपश्चात् पनि वादी प्रतिवादी एक आपसमा पति पत्नीको रूपमा नै रहे बसेको प्रत्यक्ष रूपमा आफूले देखेको बकपत्र गरिदिएकी वादीकै साक्षी धनबहादुर तामाङले अदालतसमक्ष बकपत्र गर्दा स.ज. ४ मा वादी प्रतिवादी दुवै २०६९/१/२३ गते देवाली खान ससुराली गएका, २०६९ सालको बडा दशैंमा दुवै जना मिलिजुली घर तथा माइतीघर गएका, आफू छरछिमेकको नाताले प्रस्ट देखेको उल्लेख गरेको बकपत्र साथै वादी पक्षको माइत एवं प्रतिवादीको घरमा गाउँ सर्जमिन गर्दा पनि दुवैतर्फको सर्जमिनले वादी प्रतिवादी श्रीमान् श्रीमतीको रूपमा सम्बन्ध कायम रहिरहेको, प्रतिवादीले वादीलाई श्रीमतीको रूपमा घर व्यवहार खेतीपातीको काममा लगाई जिम्मेवारी दिइराखेको, घर खर्चबापत रकम पठाउने गरेको, सम्बन्ध विच्छेदको मिलापत्र वास्तविक नभई झुक्याएर गरेको भन्ने बेहोरासहितको सर्जमिन भएको अवस्थामा उक्त सर्जमिनलाई विपक्षीले अन्यथा भन्न सकिरहेको छैन । प्रमाण ऐन, २०३१ को कानूनी प्रावधानहरूबाट तहकिकात एवं जाँचबुझको सिलसिलामा तयार भएको उक्त लिखत प्रमाण लिन मिल्ने भन्ने कानूनी व्यवस्थाका साथै सम्मानित सर्वोच्च अदालतबाट नातामा चिन्ने जान्नेको भनाइ नै प्रमाणमा सरोकार हुने भनी प्रतिपादित नजिर सिद्धान्तसमेतबाट दोलखा जिल्ला अदालतले फैसला गर्दा, बुझ्नुपर्ने प्रमाण बुझी, प्रमाण लिन हुने कुरा प्रमाणमा लगाई गरिएको हुँदा विपक्षीको पुनरावेदन जिकिर झुट्टा आधारहीन रहेकोले, कानून एवं न्यायसम्मत सुरू दोलखा जिल्ला अदालतको फैसला सदर कायम गरिपाउँ भन्ने मन्दिरा न्यौपाने आचार्यले तत्कालीन पुनरावेदन अदालत पाटनमा पेस गरेको लिखित प्रतिवाद ।

वादीले यिनै प्रतिवादीउपर काठमाडौं जिल्ला अदालतमा २०६८ सालमा दायर गरेको दु.फौ.नं.३५८० को सम्बन्ध विच्छेद मुद्दामा वादी प्रतिवादीका बिच सम्बन्ध विच्छेद गर्ने गरी मिति २०६८।१२।१७ मा मिलापत्र भएको भन्ने कुरामा विवाद नरहे पनि उक्त मिलापत्र प्रलोभन देखाई नानाथरी कुराको विश्वास दिलाई गरिएको र उक्त मिलापत्र भएपश्चात् पनि विपक्षी र म शारीरिक सम्बन्धसमेत कायमै राखी पति पत्नीको रूपमा रही बसी आएको भन्ने वादीको भनाइ रहेकोमा त्यसरी एकपटक सम्बन्ध विच्छेद हुँदैमा निजहरूका बिचमा पुनः नाता सम्बन्ध कायमै हुन नसक्ने भनी मान्न मिल्ने देखिँदैन । सम्बन्ध विच्छेद गर्ने गरी भएको उल्लिखित मिलापत्रमा वादीले अंश र माना चामल नलिने बेहोरा उल्लेख भइरहेको पाइएकोमा यदि प्रतिवादीको भनाइअनुसार सम्बन्ध विच्छेद भइसकेपछि वादीसँग प्रतिवादीको कुनै सम्बन्ध, सरोकार नै नरहनेमा निज प्रतिवादीले मिति २०६९।१।१२ मा रकम पठाएको कुरालाई अन्यथा भन्न नसकेको र प्रतिवादीकै साक्षीको बकपत्रसमेतबाट सो कुरा स्थापित भएको देखियो भने वादीका साक्षीले त सम्बन्ध विच्छेद भइसकेपश्चात् पनि वादी प्रतिवादी सँगसँगै बस्ने र प्रतिवादीले वादीलाई खर्चसमेत पठाउने गरेकाले नाता कायम हुनुपर्ने बेहोरा लेखाई बकपत्र गरेको पाइन्छ । त्यसैगरी सम्बन्ध विच्छेद गर्ने गरी मिलापत्र भएपश्चात् वादी प्रतिवादी पति पत्नीको रूपमा सँग साथमा रहे बसेका हुन् होइनन् भन्ने सन्दर्भमा प्रतिवादीको घर र वादीको माइती दुवै स्थानमा भई आएको सर्जमिनका अधिकांश व्यक्तिले सम्बन्ध विच्छेदपश्चात् पनि वादी प्रतिवादी पति पत्नीको रूपमा रहे बसेका भनी लेखाएको बेहोरासमेतबाट वादीको फिराद दाबी समर्थित भइरहेको पाइयो । साथै काठमाडौं जिल्ला अदालतमा प्रतिवादीसँग बस्न नसक्ने भनी आफैँ सम्बन्ध विच्छेद मुद्दा दायर गरी कानूनबमोजिम अंश र मानाचामलसमेत प्रतिवादीबाट भराई लिन सक्ने, वादीले उक्त सम्बन्ध विच्छेद मुद्दामा मिलापत्र गर्दा स्वेच्छाले अंश तथा माना चामल नलिने वादीले प्रतिवादीसँग आफ्नो दाम्पत्य सम्बन्ध पुनः स्थापित नभएको भए यी प्रतिवादीसँग पुनः पति पत्नीको नाता कायम गरिपाउँ भनी प्रस्तुत मुद्दाको फिराद लिई आउनुपर्नाको बलियो र भरपर्दो अन्य कारणसमेत देखिन नआएको स्थितिको विद्यमानता हुँदा वादीसँग आफ्नो पति पत्नीको नाता सम्बन्ध कायम हुनुपर्ने होइन भन्ने पुनरावेदन जिकिर मनासिब देखिन आएन । तसर्थः वादीको प्रतिवादीसँग पति पत्नीको नाता कायम हुने ठहर्‍याई सुरू दोलखा जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०७२।११।४ को तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला ।

सर्वप्रथमतः प्रत्यर्थी वादी र निवेदकबिचमा पति पत्नीको सम्बन्ध विच्छेद गर्ने र अंशमा दाबी नगर्ने गरी मिलापत्र गर्न दुवै पक्षले मन्जुर गरेबमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०६८।१२।१७ मा सम्बन्ध विच्छेद हुने गरी मिलापत्र भएको र सो बेहोरालाई विपक्षी स्वयम‌्ले हालसम्म स्वीकार गरिरहेकी छन् । उक्त फैसला बदर घोषित भएको अवस्था छैन । एक सक्षम निकायमा उपस्थित भई त्यसको मतलब र परिणामसमेत जानी बुझी सम्झी त्यसलाई स्वीकार गरिसकेपश्चात् त्यसलाई होइन, छैन झुक्याई उक्त काम कारबाही गरियो भनी भन्न कानूनी रूपमा मिल्दैन । निजलाई विबन्धन लाग्छ, एक पटक सम्बन्ध विच्छेद हुँदैमा नाता कायम हुन नसक्ने भनी मान्न मिल्ने देखिँदैन भनी पुनरावेदन अदालत पाटनबाट लिएको आधार प्रमाण ऐन, २०३१ को दफा ३४ विपरीत छ । रकम पठाउनेको सम्बन्ध साझेदार भनी पठाएको अवस्थामा त्यसलाई गलत व्याख्या गरी अन्यथा भन्न मिल्दैन । यसरी वादीले सम्बन्ध विच्छेदको मिलापत्रलाई अन्यथा भन्न नसकी प्रमाणित रही अकाट्य प्रमाणको रूपमा यथावत् कायम रही अन्तिम भएर बसेको अवस्थामा विपक्षीलाई नाता कायम गर्न विबन्धन लाग्ने भई हकदैया नै प्राप्त नभएकोले झुक्याएर गरिएको सम्बन्ध विच्छेद र सम्बन्ध विच्छेदपश्चात् पनि शारीरिक सम्पर्क कायम रहिरहेको भन्ने जस्ता झुट्टा एवं मनगढन्ते मागदाबीमा आधारित दोलखा जिल्ला अदालतको मिति २०७१।३।१८।४ मा भएको फैसला न्यायिक मनको अभावमा पूर्वाग्रही रूपमा आत्मनिष्ठ भई प्रमाण ऐन, २०३१ को दफा ३, १८, ३४, ५४ तथा मुलुकी ऐन, अ.बं. ८२, ८६, १८४, १८४ (क) र १८५ साथै पति पत्नीको १,५,६ नं. को भावनाविपरीत तथा कानून न्याय र मान्य सिद्धान्तसमेत विपरीत हुँदा दोलखा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७२।११।४ को फैसलामा गम्भीर कानूनी तथा नजिरको त्रुटि भई बदरयोग्य हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को १(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने बेहोराको पुनरावेदक प्रतिवादीको निवेदन ।

यसमा काठमाडौं जिल्ला अदालतबाट दुवै पक्षको मन्जुरीले मिति २०६८।१२।१७ मा सम्बन्ध विच्छेद हुने गरी मिलापत्रको फैसला भइसकेको अवस्थामा अन्य ठोस प्रमाणको अभावमा दुवै पक्षबिच पुनः नाता कायम हुने गरी सुरू दोलखा जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२।११।४ मा भएको फैसलामा मुलुकी ऐन, अदालती बन्दोबस्तको १८४ क, १८५ र प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेतको व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । कानूनबमोजिम गर्नु भन्नेसमेत बेहोराको मिति २०७३।४।२८ मा यस अदालतबाट भएको आदेश ।

सर्वप्रथमत: विपक्षीले सुरू अदालतमा प्रतिउत्तर पत्र दायर गर्दा नै सम्बन्ध विच्छेदको मिलापत्र भएपछि पनि निरन्तर पति पत्नीको रूपमा सम्बन्ध कायम राख्दै आएको भनी वादीले उठाएको वास्तविक सत्य तथ्यलाई अन्यथा भन्न नसकी त्यसलाई स्वीकार गरी आएको अवस्था छ । यसरी विपक्षीले शारीरिक सम्बन्ध कायम राखिरहेको नाता कायमको मुख्य फिराद दाबीलाई सुरू तहमा नै स्वीकार गरिसकेको तथ्य र अवस्था छ । विपक्षीले एकै दिन सम्बन्ध विच्छेदको मुद्दा मिलापत्र गर्ने गराउने परिबन्द मिलाउनु, पछि विश्वासघात गरी अलग गर्ने बदनियत योजनाबद्ध रूपमा गरेको कुरा मैले समयमा बुझ्न सकिन । मेरो राजीखुसीले सम्बन्ध विच्छेद गरेको भए मैले पाउने सम्पत्तिको हकलाई परित्याग कदापि गर्ने थिइनँ । सम्बन्ध विच्छेद भएपश्चात् पनि वादी प्रतिवादी पति पत्नीको रूपमा सम्बन्ध कायम गरी बसिरहेका भन्ने सम्बन्धमा वादीका साक्षी देवीका भण्डारीले अदालतसमक्ष उपस्थित भई प्रत्यक्ष रूपमा देखेको भनी आफूले बकपत्र गरिदिएकी, वादीकै साक्षी धनबहादुर तामाङले अदालतसमक्ष बकपत्र गर्दा स.ज.४ मा वादी प्रतिवादी दुवै २०६९।१।२३ गते देवाली खान ससुराली गएका, २०६९ सालको बडादशैंमा दुवैजना मिलिजुली घर तथा माइतीघर गएका आफू तथा छरछिमेकले प्रस्ट देखेको उल्लेख गरेको बकपत्र साथै वादी पक्षको माइत एवं प्रतिवादीको घरमा गाउँ सर्जमिन गर्दा पनि दुवैतर्फको सर्जमिनले वादी प्रतिवादी श्रीमान् श्रीमतीको रूपमा सम्बन्ध कायम रहिरहेको, प्रतिवादीले वादीलाई श्रीमतीको रूपमा घर व्यवहार खेतीपातीको काममा लगाई जिम्मेवारी दिइराखेको, घर खर्चबापत रकम पठाउने गरेको, सम्बन्ध विच्छेदको मिलापत्र वास्तविक नभई झुक्याएर गरेको भन्ने बेहोरासहितको सर्जमिन भएको अवस्थामा उक्त सर्जमिनलाई विपक्षीले अन्यथा भन्न सकिरहेको छैन । अतः विपक्षीको निवेदन जिकिर झुट्टा आधारहीन रहेकोले प्रचलित प्रमाण ऐन, कानूनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतबाट सुरू अदालतको फैसला सदर कायम गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलामा कानून तथा प्रमाणको मूल्याङ्कनमा त्रुटि नरहेको हुँदा सदर कायम गरिपाउँ भन्नेसमेत बेहोराको प्रत्यर्थी मन्दिरा न्यौपाने आचार्यको लिखित प्रतिवाद ।

यसमा प्रस्तुत मुद्दाको समाधान मिलापत्रबाट हुन उपयुक्त देखिएकाले पक्षहरूलाई मेलमिलाप गर्ने प्रयोजनको लागि १ महिनाको समय दिई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७८(५) बमोजिम प्रस्तुत मुद्दा र लगाउको मुद्दासमेत मेलमिलाप केन्द्रमा पठाई नियमबमोजिम गर्नु भन्नेसमेत बेहोराको मिति २०७४।९।१६ मा यस अदालतबाट भएको आदेश ।

अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणको अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री प्रकाश पन्थी, श्री नेत्र आचार्य, श्री भोजराज भट्ट, श्री कुमारप्रसाद आचार्य तथा श्री लक्ष्मण आचार्यले वादी प्रतिवादीबिच मिति २०६८।१२।१७ मा भएको सम्बन्ध विच्छेदको मिलापत्र रहँदारहँदै पुनः नाताकायम गर्ने हकदैया वादीलाई छैन । बी.ए. पास गरेकी महिलालाई झुक्काउन सकिँदैन । वेस्टर्न युनियनबाट रकम साझेदार भनी पठाएको छ । विवाह दर्ता प्रमाणपत्र पुनः छैन । सम्बन्ध विच्छेको मुद्दा स्वयम् वादीले नै हालेकी हुन् । सम्बन्ध विच्छेदको मिलापत्र बदर नभई नाता कायम हुन सक्दैन । अदालतले जबरजस्ती नाता कायम गर्न सक्दैन । त्यसैले सुरू फैसला नमिलेको हुँदा उल्टी गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री शरण शंकर पौडेल, श्री खडानन्द कँडेल र श्री सरिता अकौलियाले वादी र प्रतिवादीबिच भएको सम्बन्ध विच्छेद प्रलोभन र विश्वासमा पारी डि.भी भर्नको लागि भएको हो । सम्बन्ध विच्छेद भएपश्चात् पनि वादी प्रतिवादीबिच पति पत्नीको रूपमा सम्बन्ध कायम गरी बसिरहेका र उक्त कुरालाई वादीका साक्षी देविका भण्डारीको बकपत्रबाट पुष्टि भएको छ । प्रतिवादीले वादीलाई संरक्षण गर्न पैसासमेत पठाउने गरेको र उक्त कुरा वेस्टर्न युनियनबाट पैसा पठाएको भौचरले पुष्टि गरेको छ । माइतीतर्फको देवाली मान्न  दुवै जना सँगै गएको भनेर सर्जमिनका व्यक्तिहरूले भनेकोसमेत आधारमा वादी प्रतिवादीबिच नाता कायम गरेको सुरू जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला कानून र प्रमाणको मूल्याङ्कनमा त्रुटि नभएको हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

उपर्युक्त दुवैतर्फका विद्वान् अधिवक्ताहरूको बहस जिकिर सुनी मिसिल प्रमाणसहितका सम्पूर्ण कागजातहरूको अध्ययन गरी हेर्दा, तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२।११।४ मा भएको फैसला मिलेको छ वा छैन, पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

निर्णयतर्फ विचार गर्दा, वादी प्रतिवादीबिच मिति २०६७।१०।१० मा विवाह भई श्रीमान् श्रीमतीको नाता कायम रही जीवनयापन गरिरहेकोमा विपक्षी पतिले सम्बन्ध विच्छेद गराई अलग राख्ने नियतले डि.भी भरी अमेरिका लैजान्छु भनी अनेक प्रलोभन देखाई विश्वासमा पारी मिति २०६८।१२।१७ मा काठमाडौं जिल्ला अदालतमा पति पत्नीको नाता सम्बन्ध विच्छेद गर्ने गरी मिलापत्र गर्‍यौं । सम्बन्ध विच्छेदपछि पनि वादी प्रतिवादी पति पत्नीको रूपमा एकै ठाउँमा बस्दै आएको, मिति २०६९।१।२३ मा माइतीमा देवाली भएकोले सँगै माइतीमा आई देवाली मानी काठमाडौं फर्केपछि पनि सँगै बसेको, शारीरिक सम्बन्ध कायम राखेको हुँदा निजसँग नाता कायम गरिपाउँ भन्ने फिराद दाबी तथा अदालतबाट सम्बन्ध विच्छेद भइसकेको हुँदा नाता कायम हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादीको प्रतिउत्तर जिकिर रहेछ । प्रस्तुत मुद्दामा सुरू दोलखा जिल्ला अदालतबाट वादीको प्रतिवादीसँग पति पत्नीको नाता कायम हुने गरी फैसला भएको रहेछ । उक्त फैसलाउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेकोमा उक्त अदालतबाट समेत सुरू अदालतको फैसला सदर भएको रहेछ । उक्त फैसलाउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन परेकोमा दोहोर्‍याई हेर्ने अनुमति प्राप्त भई पुनरावेदनको रोहमा प्रस्तुत मुद्दा दर्ता हुन आएको  देखियो ।

काठमाडौं जिल्ला अदालतबाट मिति २०६८।१२।१७ मा वादी प्रतिवादीबिच भएको सम्बन्ध विच्छेदको मिलापत्रलाई अन्यथा भन्न नसकी अकाट्य प्रमाणको रूपमा अन्तिम रहेको अवस्थामा विपक्षीलाई नाता कायम गर्न विबन्धन लाग्ने भई हकदैया नै प्राप्त नभएकोले झुक्याएर गरिएको सम्बन्ध विच्छेद र सम्बन्ध विच्छेदपश्चात् पनि शारीरिक सम्पर्क कायम रहिरहेको भन्ने झुट्टा दाबीमा आधारित नाता कायम गरेको सुरू जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने पुनरावेदक प्रतिवादीको मुख्य पुनरावेदन जिकिर रहेको देखियो ।

२. सो सन्दर्भमा मिसिल संलग्न कागज हेर्दा, यिनै वादी प्रतिवादीबिच काठमाडौं जिल्ला अदालतमा २०६८ सालमा दायर गरेको दु.फौ.नं.३५८० को सम्बन्ध विच्छेद मुद्दा मिति २०६८।१२।१७ मा सम्बन्ध विच्छेद हुने गरी मिलापत्र भएको देखिन्छ । वादीले फिरादपत्रमा प्रतिवादीले डि.भि भर्न विवाहितले कठिनाई हुने हुँदा पहिला सम्बन्ध विच्छेद गरी मैले डि.भी. भरी अमेरिका जान्छु अनि तिमीलाई लैजान्छु भनी अनेक प्रलोभन देखाई विश्वास दिलाएको, सम्बन्ध विच्छेद हुने गरी मिलापत्रपश्चात् पनि विपक्षीसँग काठमाडौंमा एकै ठाउँमा नै बस्दै आएको तथा मिति २०६९।०१।२३ गते दुवै जना माइतीमा देवाली मानी पुनः काठमाडौं गई एकासगोलमा बसी आएको, प्रतिवादी र मबिच शारीरिक सम्बन्ध कायमै राखी पति पत्नीको रूपमा बसेकोसमेत हुँदा पति पत्नीको नाता कायम गरिपाउँ भन्नेसमेत फिराद दाबीमा उल्लेख गरेको देखिन्छ । तर प्रतिवादीले सम्बन्ध विच्छेदपश्चात् पनि वादीसँग शारीरिक सम्बन्ध कायम राखेको छैन साथै वादीको माइतीको देवालीमा समेत आफू गएको छैन तथा होइन भनी आफ्नो प्रतिउत्तरपत्रमा खण्डन गर्न सकेको देखिँदैन । मिसिल संलग्न वादीका साक्षी देवीका भण्डारीले स.ज. ५ मा ‘’वादी प्रतिवादीबिच सम्बन्ध विच्छेद भइसकेपछि घर र माइत ससुराली सँगसँगै गएका हुन्, वादीलाई प्रतिवादीले पैसा पठाएको साँचो हो, जुन भौचरसमेत छ’’ भनी  बकपत्र गरेको देखियो । यिनै वादी मन्दिरा न्यौपानेलाई प्रतिवादी हेमन्त शंकर आर्चायले रू.५,०००।- (पाँच हजार रूपैयाँ) मिति ०४/२४/२०१२ अर्थात् २०६९।१।१२ मा वेस्टर्न युनियनमार्फत रकम पठाएको मिसिल संलग्न भौचरबाट देखियो । अर्थात् उक्त रकम मिति २०६८।१२।१७ मा वादी प्रतिवादीबिच सम्बन्ध विच्छेद भएपछि पठाएको देखिन आयो ।

३. मिति २०७१।२।५ मा वादीको माइतीगाउँ दोलखा जिल्ला मागापौवा गा.वि.स. वडा नं.५ मा गरेको सर्जमिन मुचुल्का हेर्दा, ‘‘मिति २०६९।१।२३ मा न्यौपानेहरूको कुलपूजा देवाली थियो । त्यस देवालीको दिन वादी प्रतिवादी दुवै जना एकैसाथ मोटरसाइकलमा आएका थिए । निज प्रतिवादी र वादीसँगै एक रात वादीकै माइतीघरमा सँगै बसी देवालीको प्रसादसमेत ग्रहण गरी बसेका हुन्, असार सकेर स्कुल पढाउन मागापौवा फर्की फेरी दशैं मान्न घर बुलुङ गएका थिए भनी सर्जमिनका व्यक्ति चन्द्रप्रसाद न्यौपानेले भनेका र मनोरम न्यौपाने, देवमाया भण्डारी र उर्मिला न्यौपानेसमेतले सोही बेहोरालाई समर्थन गर्दै वादी मन्दिरा न्यौपाने (आचार्य) लाई खर्च पठाउनेसमेत गरेको कुरा सुनेकी हुँ’’ भनी उल्लेख गरेको देखिन्छ भने मिति २०७१।२।१४ मा प्रतिवादीको गाउँ दोलखा जिल्ला बुलुङ गा.वि.स. वडा नं. २ मा गरेको सर्जमिन मुचुल्का हेर्दा, ‘’वादी मन्दिरा न्यौपाने र प्रतिवादी हेमन्त शंकर आचार्यको सम्बन्ध विच्छेद भएपश्चात् असारमा र दशैँमा वादी प्रतिवादी प्रतिवादीको घरमा आई बसेको देखेको हो’’ भनी सर्जमिनका व्यक्ति शिवजी खड्काले भनेको र सो बेहोरालाई समर्थन हुने गरी हिममञ्जरी दाहाल, प्रतिमा आचार्यसमेतका २० जना व्यक्तिहरूले उल्लेख गरेकोसमेत देखिन्छ । यसरी वादीका गाउँका व्यक्तिहरू संलग्न सर्जमिन मुचुल्काका व्यक्तिहरूले मात्र नभई प्रतिवादी गाउँका व्यक्तिहरूले समेत सर्जमिन मुचुल्का गर्दा वादीको फिराद दाबीलाई नै समर्थन हुने गरी अधिकांश व्यक्तिहरूले लेखाएको पाइयो । वादी प्रतिवादी दुवैतर्फका गाउँ सर्जमिनमा रहेका उल्लिखित व्यक्तिहरूले घर तथा माइतीमा आउँदै नआई बिना कारण सम्बन्ध विच्छेद भएपश्चात् पनि वादी प्रतिवादीबिच पति पत्नीको सम्बन्धमा सँगसँगै देखेको, बसेको भन्नुपर्ने अन्यथा कुनै कारण देखिँदैन ।

४. एउटी विवाहित महिलाले भविष्यको ठुलो आशा भरोसा बोकेर गरेको विवाहलाई बिनाआधार र कारण विवाह भएको छोटो समयमा नै सम्बन्ध विच्छेदमार्फत तोड्ने कुरा आफैँमा विचारणीय देखिन्छ । प्रत्यर्थी वादी मन्दिरा न्यौपानेले अनुचित प्रभावबिना नै स्वइच्छाले आफूखुसी सम्बन्ध विच्छेदको मुद्दा दिएको भए निजले मानाचामाल तथा अंशबापत केही नलिई सम्बन्ध विच्छेदको मिलापत्र गर्नुपर्ने केही कारण देखिँदैन । अंश वा मानाचामल नलिनुपर्ने निजको आर्थिक हैसियत पनि रहे भएको पाइँदैन । साथै सम्बन्ध विच्छेद भएको मितिले करिब ११ महिनाभित्र नै पुनः नाता कायम गरिपाउँ भनी सम्बन्ध विच्छेद भएको व्यक्तिलाई पुनः मुद्दा दिनुपर्ने र वर्षौंसम्म उक्त दाबीमा अटल रहनुपर्ने अवस्था र कारण पनि हुँदैन । सम्बन्ध विच्छेद भएर गएकी श्रीमतीसँग शारीरिक तथा भावनात्मक दुवै रूपमा सम्बन्ध विच्छेद हुने हुँदा पुनः कुनै न कुनै सम्बन्ध नै नभई मिति २०६९।१।१२ मा वेस्टर्न युनियनबाट रू.५,०००।- रकम पठाउने कुरा पनि हुँदैन । रकम पठाएको कुरालाई प्रतिवादीले अन्यथा भन्न नसकी स्वीकार गरेको अवस्था पनि यहाँ छ । सम्बन्ध विच्छेद भएपछि पुनः वादीको माइतीको देवालीमा गएको भन्ने कुरा वादीका साक्षी देवीका भण्डारी तथा देवालीको दिन वादी प्रतिवादी दुवैजना एकैसाथ मोटरसाइकलमा आएका र प्रतिवादी र वादी सँगै एक रात वादीकै माइतीघरमा सँगै बसी गएका हुन् भनी सर्जमिनका चन्द्रप्रसाद न्यौपानेसमेतका व्यक्तिहरूले भनेको एकै मिलानको बेहोरा र सम्बन्ध विच्छेदपछि पनि वादी प्रतिवादी असार र दशैँमा आई बसेको भनी शिवजी खड्कासमेतले भनेको बेहोराबाट सम्बन्ध विच्छेदपछि पनि यी वादी प्रतिवादीबिचको सम्बन्ध निरन्तर नै पति पत्नीको रूपमा रहे भएको भन्ने देखिएको छ । विवाह महिलाको आत्मसम्मान र समानतासँग जोडिएको विषय हो । यी प्रत्यर्थी वादीले पुनरावेदक प्रतिवादीसँग सम्बन्ध विच्छेद भएपछि पनि यथावत् शारीरिक सम्बन्ध कायम राख्दै आएको, सँगसँगै पति पत्नीको रूपमा रहँदै, बस्दै गरेको र वादी प्रतिवादी सँगसँगै दुवैतर्फका माइती साथै घरमा गई कामकाजसमेत गरी बसिरहेको कुरा प्रमाण कागजबाट पुष्टि भएको अवस्थामा सम्बन्ध यथावत् रहेबाट मागबमोजिम नाता कायम हुन नसक्ने अवस्था देखिएन ।

५. यहाँ वादीले झुक्याएर मिलापत्र गराएको, मिलापत्र गराएपछि पनि हाम्रो पति पत्नीको सम्बन्ध यथावत् रहेको, डेरामा बस्ने, देवालीमा सहभागी हुने, घर माइत ससुराली गर्ने, रकम पठाउने आदि कार्य गरिरहेकोमा पछि प्रतिवादीले सम्बन्ध विच्छेद भयो भनेकोले नाता यथावत् कायम गरिपाउँ भनी दाबी लिएको अवस्था हो । प्रतिवादीले झुक्याई सम्बन्ध विच्छेद गराए पनि हाम्रो श्रीमान् श्रीमतीको सम्बन्ध यथावत् छ भनी दाबी गरेको अवस्थामा पक्षका व्यवहार र आचरणहरू नहेरी सम्बन्ध विच्छेदको मिलापत्र बदरको माग गरिएको छैन भन्ने नितान्त प्राविधिक कुरा उठाई नाता कायम हुँदैन भन्नु अन्यायपूर्ण हुन जान्छ । न्याय समग्रतामा हेरिने र पक्ष तथा समाजले अनुभूत गर्ने कुरा हो । समाजमा विदेश जाने जुन लहर र हुटहुटी चलेको छ, जसरी झुट्टा विवाह वा कागजी विवाह गरेर भिसा हात पार्नेसम्मका गतिविधि भइरहेका छन्, यी प्रतिवादीले पनि त्यसो गर्ने प्रयास गरेनन् होला भन्न सम्बन्ध विच्छेदपश्चात्‌का निज प्रतिवादीको गतिविधिबाट सकिएन । यस्ता गतिविधिबाट महिलालाई जोगाउनु न्यायको स्वाभाविक अपेक्षा बन्छ । वादी प्रतिवादीबिच परम्परागत विवाह भएको र विवाहको बन्धन र नातालाई यी वादीले यथावत् कायम राख्न माग गरी वर्षौंसम्म मुद्दा लडिरहेको अवस्था छ । यसलाई मानव अधिकारको दृष्टिबाट पनि हेर्नु आवश्यक देखिन्छ ।

६. नेपालको संविधानको धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक प्रत्याभूत गरेको छ र धारा १८ ले लिङ्गका आधारमा गरिने विभेदलाई निषेध गरेको छ । नेपाल पक्ष रहेको महिला विरूद्ध हुने सबैखाले भेदभाव विरूद्धको महासन्धि, १९७९ को धारा १६ ले विवाह सुरू हुँदा, वैवाहिक सम्बन्धमा रहँदा र विवाहको अन्त्य वा सम्बन्ध विच्छेदको अवस्थामा समेत कुनै विभेद गर्न नहुने कुराको प्रत्याभूति गरेको छ । वैवाहिक विषय व्यक्तिगत, सामाजिक र कानूनी हुनुको साथै आर्थिक पनि हो । सामाजिक संचरनाको कारण पनि विवाह  महिलाको लागि संवेदनशील विषयको रूपमा रहन्छ । वैवाहिक जीवनमा प्रवेश गर्दा र विवाह अन्त्य गर्दाको परिणामहरू महिला र पुरूषमा समान नहुन सक्दछ । CEDAW को General recommendation on article १६ ले महिला पुरूषबिचको यो असमान अवस्था र भिन्नताउपर विचार पुर्‍याउनुपर्ने कुरा उल्लेख गरेको पाइन्छ । तसर्थ, सम्बन्ध विच्छेद, मानाचामल, अंश, बालबालिकाको custody लगायतका विषयलाई महिला अधिकारको परिधिबाट संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने हुन्छ । यसैकारण महिला अधिकारअन्तर्गत “divorce with consent” को अवधारणालाई पनि अघि सारिएको छ । सम्बन्ध विच्छेद सधैँ पक्षहरूको सहमतिमा हुनुपर्दछ भन्ने होइन तर यहाँ सम्बन्ध विच्छेद सहमतिमा भएको तर सहमति झुक्यानमा पारेर लिइएको स्थापित भएको हुँदा यस्तो कुरालाई स्वीकार्दा वादीले सम्बन्ध विच्छेद गर्दा प्राप्त गर्ने आर्थिक हकबाट वञ्चित हुनुपर्ने अवस्था परेको देखिन्छ । यसरी वादीलाई छलेर कानूनी रूपमा सम्बन्ध विच्छेद गरी सोपश्चात् निजसँग सामाजिक रूपमा पति-पत्नीसरह बसेको अवस्थामा निजलाई अंश हकबाट पनि वञ्चित गराउँदा नेपालको संविधानले सुनिश्चित गरेको वंश, सम्पत्ति र सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार हनन हुन जाने हुन्छ । साथै यस्तो कार्य CEDAW को धारा १६ समेतको विपरीतसमेत हुने देखिन्छ । त्यसैले पनि वादीको सम्मान र समानताको हकको सुरक्षाको लागि निजले दाबी गरेबमोजिम नाता यथावत् कायम राख्नु न्यायपूर्ण हुने देखिन आयो ।

७. अतः माथि उल्लिखित कारणहरूबाट पुनरावेदक प्रतिवादीको वादीसँग पति पत्नीको नाता कायम हुने गरी ठहर्‍याएको सुरू दोलखा जिल्ला अदालतको मिति २०७१।३।१८ को फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७२।११।०४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशकुमार ढुंगाना

इति संवत् २०७८ साल फागुन २९ रोज १ शुभम् ।

स्रोत : सर्बोच्च अदालत नेपाल

Call Now WhatsApp