व्यक्तिगत घटना दर्ता सम्बन्धी सोधिने प्रश्न (FAQs)
१. व्यक्तिगत घटना दर्ता भनेको के हो ?
उत्तर: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ लगायत व्यक्तिसँग सम्बन्धित घटनाहरू सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालय वा घटना घटेको स्थानको वडा कार्यालयमा आधिकारिक रूपमा अभिलेख गर्ने प्रक्रियालाई व्यक्तिगत घटना दर्ता भनिन्छ।
२. व्यक्तिगत घटना दर्ता किन अनिवार्य छ ?
उत्तर: व्यक्तिगत घटना दर्ता निम्न कारणले अनिवार्य मानिन्छः
- व्यक्तिको कानुनी पहिचान स्थापित गर्न,
- सरकारी तथा अन्य सेवा–सुविधा प्राप्त गर्न,
- राज्यलाई नीति, योजना तथा तथ्यांक व्यवस्थापनमा सहयोग पुर्याउन।
३. व्यक्तिगत घटना दर्तामा सूचक को हुन सक्छ ?
उत्तर:
| घटना | सूचक |
| जन्म दर्ता | बाबु वा आमा, वा उनीहरू अनुपस्थित भए परिवारको १८ वर्ष पुगेको सदस्य |
| मृत्यु दर्ता | बाबु, आमा, पति, पत्नी, छोरा, छोरी वा परिवारको १८ वर्ष पुगेको सदस्य |
| विवाह दर्ता | पति र पत्नी दुवै |
| सम्बन्ध विच्छेद दर्ता | सम्बन्ध विच्छेद भएका व्यक्तिमध्ये कुनै एक |
| बसाइँसराइ दर्ता | परिवारको १८ वर्ष पुगेको सदस्य |
४. व्यक्तिगत घटना कहाँ र कहिले दर्ता गर्नुपर्छ ?
उत्तर: व्यक्तिगत घटना सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालय वा घटना घटेको स्थानको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा ३५ दिनभित्र निःशुल्क दर्ता गर्नुपर्छ। ३५ दिनपछि भने विलम्ब शुल्क लाग्छ।
सरकारी निकाय वा नेपाल सरकारको स्वामित्वमा रहेका संस्थाका बहालवाला कर्मचारीले बसाइँसराइ बाहेक अन्य घटना कार्यालयको सिफारिसमा कार्यस्थल रहेको वडा कार्यालयमा पनि दर्ता गर्न सक्छन्।
५. ऐन लागू हुनुअघि भएका घटना दर्ता गर्न मिल्छ ?
उत्तर: जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ लागू हुनुअघि भएका घटना नियमित रूपमा दर्ता गर्न मिल्दैन। तर सम्बन्धित वडा अध्यक्षबाट घटना प्रमाणित गराउन सकिन्छ।
६. सूचकको नागरिकता किन आवश्यक पर्छ ?
उत्तर: घटना दर्ता गर्ने व्यक्ति जिम्मेवार र पहिचान खुल्ने हुनुपर्ने भएकाले सूचकको उमेर, परिचय र प्रमाणको आधारका रूपमा नागरिकता आवश्यक पर्छ।
७. अभिलेख हराएमा प्रतिलिपि कसरी पाइन्छ ?
उत्तर: अभिलेख हराएको वा नष्ट भएको अवस्थामा सूचना फाराम, प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा पुनः अभिलेख तयार गरी प्रतिलिपि जारी गर्न सकिन्छ। प्रमाण नपाएमा नयाँ सूचना फाराम भराई सनाखतपछि अभिलेख तयार गरिन्छ।
८. स्थानीय तह तथा वडा कार्यालयको जिम्मेवारी के हो ?
उत्तर: स्थानीय तह तथा वडा कार्यालयलेः
- सूचना फाराम भराउने,
- आवश्यक कागजात जाँच गर्ने,
- नियमअनुसार दर्ता गर्ने,
- अभिलेख सुरक्षित राख्ने,
- प्रमाणपत्र जारी गर्ने,
- नागरिकलाई प्रक्रिया र विलम्ब शुल्कबारे जानकारी दिने जिम्मेवारी बहन गर्छन्।
९. सूचक वा व्यक्तिको कर्तव्य के हो ?
उत्तर: सूचक वा सम्बन्धित व्यक्तिलेः
- सही विवरण उपलब्ध गराउने,
- आवश्यक कागजात पेश गर्ने,
- ३५ दिनभित्र घटना दर्ता गराउने,
- प्रमाणपत्रको विवरण जाँच गरी मात्र बुझ्ने कर्तव्य पूरा गर्नुपर्छ।
१०. झुट्टा विवरण पेश गरेमा के हुन्छ ?
उत्तर: झुट्टा विवरण पेश गरी घटना दर्ता गराएको प्रमाणित भएमा प्रचलित कानुनअनुसार सजाय हुन्छ।
११. नेपालमा रहेका विदेशीले घटना दर्ता कसरी गर्छन् ?
उत्तर: विदेशी नागरिकले राहदानी, राष्ट्रियता खुल्ने कागजात तथा आवश्यक प्रमाणसहित आफू बसोबास गरेको स्थानमा घटना दर्ता गर्न सक्छन्। आवश्यक परे सम्बन्धित दूतावास वा कूटनीतिक नियोगको सिफारिस पनि चाहिन्छ।
१२. पात्रोमा नभएको मिति राखिएमा के गर्ने ?
उत्तर: यदि दर्तामा सम्बन्धित महिनामा नभएको मिति उल्लेख भएको रहेछ भने सो महिनाको अन्तिम दिन कायम गरी प्रतिलिपि जारी गर्न सकिन्छ।
जन्म दर्तासम्बन्धी प्रश्नहरू
१३. जन्म दर्ताका लागि आवश्यक कागजात के हुन् ?
उत्तर: बाबु वा आमाको नागरिकता प्रतिलिपि
- सूचकको नागरिकता प्रतिलिपि
- अस्पतालमा जन्म भए जन्म प्रतिवेदन
- घरमा जन्म भए खोप कार्ड
- बाबु बेपत्ता भए प्रहरी प्रतिवेदन
- आवश्यक परे वडा सर्जमिन मुचुल्का वा प्रहरी प्रतिवेदन
१४. जन्म दर्ताका लागि विवाह दर्ता अनिवार्य हो ?
उत्तर: होइन, बालबालिकाको जन्म दर्ताका लागि बाबु–आमाको विवाह दर्ता अनिवार्य हुँदैन।
१५. स्वतः बदर हुने विवाहबाट जन्मिएको बच्चाको जन्म दर्ता कसरी हुन्छ ?
उत्तर: आमा र बाबु दुवै उपस्थित भई आधिकारिक सूचना दिएमा त्यस्तो बच्चाको जन्म दर्ता गर्न सकिन्छ।
१६. एकल महिलाबाट जन्मिएको बच्चाको थर र ठेगाना कसरी राखिन्छ ?
उत्तर: पितृत्व नखुलेको अवस्थामा बच्चाको जन्म दर्ता गर्दा आमाकै थर र स्थायी ठेगाना कायम गरिन्छ।
१७. विवाहअघि जन्मिएको बच्चाको ठेगाना कहाँ राखिन्छ ?
उत्तर: बच्चा आमासँग बसेको भए आमाको ठेगाना र मावलमा बसेको भए मावलको ठेगाना राखी जन्म दर्ता गर्न सकिन्छ।
१८. बाबुको ठेगाना नखुलेमा जन्म दर्ता कसरी गर्ने ?
उत्तर: प्रहरी प्रतिवेदन तथा अन्य आवश्यक कागजातका आधारमा जन्म दर्ता गर्न सकिन्छ।
१९. आमा वा बाबु विदेशी भए जन्म दर्ता कसरी हुन्छ ?
उत्तर: विदेशी भएको प्रमाणसहित नेपाली अभिभावकको नागरिकता वा आवश्यक कागजातका आधारमा जन्म दर्ता गर्न सकिन्छ।
२०. अनाथ वा असहाय बालबालिकाको जन्म दर्ता कसरी हुन्छ ?
उत्तर: संरक्षक, माथवर वा आवश्यक परे वडा अध्यक्ष सूचक बनी जन्म दर्ता गर्न सकिन्छ।
२१. धर्मपुत्र वा धर्मपुत्री दर्ता कसरी गर्ने ?
उत्तर: अदालतको निर्णयको प्रतिलिपिसहित धर्म बाबु वा धर्म आमाले सूचक बनेर दर्ता गर्न सक्छन्।
२२. विदेशमा जन्मिएको बच्चाको जन्म दर्ता कसरी गर्ने ?
उत्तर: विदेशस्थित नेपाली दूतावासबाट प्रमाणित जन्म प्रमाणपत्रसहित नेपाल आएको ३५ दिनभित्र वडा कार्यालयमा दर्ता गर्नुपर्छ।
२३. कारागारमा जन्मिएको बच्चाको जन्म दर्ता कसरी हुन्छ ?
उत्तर: कारागार प्रमुखले प्रमाणित गरेको सूचना फाराम सम्बन्धित वडा कार्यालयमा पठाई जन्म दर्ता गरिन्छ।
२४. दलित बालबालिकाको फरक थर राख्न मिल्छ ?
उत्तर: राष्ट्रिय दलित आयोगको अनुसूचीमा उल्लेखित सम्बन्धित जातिभित्रको थर राखी जन्म दर्ता गर्न सकिन्छ।
मृत्यु दर्तासम्बन्धी प्रश्नहरू
२५. मृत्यु दर्ताका लागि आवश्यक कागजात के हुन् ?
उत्तर: मृतकको नागरिकता वा परिचय खुल्ने कागजात
- सूचकको नागरिकता
- विदेशी भए राहदानी तथा सिफारिस
- अस्पतालमा मृत्यु भए मृत्यु प्रतिवेदन
२६. मृत्यु दर्ता किन आवश्यक छ ?
उत्तर: सम्पत्ति हस्तान्तरण, सामाजिक सुरक्षा, विधवा प्रमाणित गर्न तथा कानुनी र प्रशासनिक प्रयोजनका लागि मृत्यु दर्ता आवश्यक हुन्छ।
विवाह दर्तासम्बन्धी प्रश्नहरू
२७. विवाह दर्ता भनेको के हो ?
उत्तर: कानुन अनुसार वैवाहिक सम्बन्ध कायम भएका पति–पत्नीले स्थानीय पञ्जिकाधिकारीको कार्यालय मा दर्ता गर्ने प्रक्रियालाई विवाह दर्ता भनिन्छ।
२८. विवाह दर्ताका लागि आवश्यक कागजात के हुन् ?
उत्तर:
- दुलाहा–दुलहीको नागरिकता वा परिचय खुल्ने कागजात
- हालसालै खिचेको फोटो
- विदेशमा रहेको पक्षको अधिकृत वारेसनामा
- अदालतको फैसला वा आदेश (आवश्यक परेमा)
२९. विवाह दर्ताको सूचक को हुन्छ ?
उत्तर: पति र पत्नी दुवै सूचक हुनुपर्छ। विदेशमा रहेको पक्षले दूतावासमार्फत अधिकृत वारेसनामा पठाउन सक्छ।
३०. एक पक्षले विवाह दर्ता गर्न नमानेमा के गर्ने ?
उत्तर: अदालतबाट नाता कायम भएको फैसला वा आदेशका आधारमा एक पक्षले पनि विवाह दर्ता गर्न सक्छ।
३१. विवाह दर्ताअघि पति वा पत्नीको मृत्यु भएमा के हुन्छ ?
उत्तर: त्यस्तो अवस्थामा विवाह दर्ता प्रमाणपत्र जारी हुँदैन। वडा अध्यक्षबाट विवाह प्रमाणित गराउनुपर्छ।
३२. बाल विवाह वा बहुविवाह किन दर्ता हुँदैन ?
उत्तर: मुलुकी देवानी संहिता, २०७४ अनुसार यस्ता विवाह कानुनतः बदर हुने भएकाले दर्ता गर्न मिल्दैन।
३३. नेपाली नागरिकले विदेशीसँग विवाह गरेमा कसरी दर्ता गर्ने ?
उत्तर: विदेशमा भएको विवाह सम्बन्धित देशको प्रमाणपत्र तथा आवश्यक प्रमाणीकरणसहित दर्ता गर्न सकिन्छ। नेपालमा भएको विवाह अदालतको प्रमाण वा आवश्यक कागजातका आधारमा दर्ता गरिन्छ।
३४. पुनः विवाह दर्ता गर्न मिल्छ ?
उत्तर: अदालतबाट अंशबण्डा वा कानुनी प्रक्रिया पूरा भएको प्रमाणसहित पुनः विवाह दर्ता गर्न सकिन्छ।
बसाइँसराइसम्बन्धी प्रश्नहरू
३५. बसाइँसराइ दर्ताका लागि आवश्यक कागजात के हुन् ?
उत्तर: जाँदा:
- लगत हस्तान्तरण फाराम
- सूचकको नागरिकता
- बालबालिकाको जन्म दर्ता वा नागरिकता
आउँदा:
- लगत हस्तान्तरणको सक्कल प्रति
- घरमुली वा सूचकको नागरिकता
३६. बसाइँसराइ दर्ता नगरेमा के हुन्छ ?
उत्तर: राज्यबाट उपलब्ध हुने सेवा–सुविधाबाट वञ्चित हुन सकिन्छ।
३७. परिवारको एक सदस्यको मात्र बसाइँसराइ गर्न मिल्छ ?
उत्तर: मिल्छ, तर सम्बन्धित सबै व्यक्तिगत घटना दर्ता भएको हुनुपर्छ र सूचक स्वयं व्यक्ति हुनुपर्छ।
३८. नाबालक सदस्य छुटेमा बसाइँसराइ कसरी गर्ने ?
उत्तर: एक वर्षभित्र भए संशोधन गर्न सकिन्छ। समय नाघेमा नयाँ बसाइँसराइ दर्ता गर्नुपर्छ।
सम्बन्ध विच्छेदसम्बन्धी प्रश्नहरू
३९. सम्बन्ध विच्छेद दर्ताका लागि आवश्यक कागजात के हुन् ?
उत्तर:
- सूचकको नागरिकता
- अदालतको फैसला
- विदेशमा भएको भए प्रमाणित कागजात
४०. आमासँग रहेको बच्चाको जन्म दर्ता कहाँ गर्न मिल्छ ?
उत्तर: आमाको स्थायी ठेगानामा जन्म दर्ता गर्न मिल्छ, तर बाबुको ठेगानामा दर्ता नभएको सुनिश्चित गर्नुपर्छ।
४१. पत्नीको स्थायी ठेगानामा सम्बन्ध विच्छेद दर्ता गर्न मिल्छ ?
उत्तर: मिल्छ, तर पतिको स्थायी ठेगानामा पहिले दर्ता नभएको पुष्टि हुनुपर्छ।